कालीगण्डकी

2021 -09- 28

तिब्बतमा उत्पत्तिभई मुस्ताङहुँदै नेपाल प्रवेश गर्ने कालीगण्डकी गहिरो खोंच भएर बग्ने विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो । जोमसोम र टुकुचेहुँदै बग्दा कालीगण्डकीले संसार कै सबैभन्दा गहीरो गल्छी बनाएको छ । पश्चिममा धौलागिरी ( ९८१६७ मिटर) र पूर्वमा अन्नपूर्ण (९८०९१ मिटर) का हिमालको बीचबाट कालीगण्डीले खोंच निर्माण गरेको छ । गल्छीको उचाइ एक हजार तीन सय मिटरदेखि दुई हजार छ सय मिटरसम्म रहेको छ ।

कालीगण्डकी हिमनदी भए पनि प्रायः कालो रंगको जलप्रवाह हुन्छ । सोही कारण सो नदीलाई कृष्णगण्डकी अर्थात् कालीगण्डकी भनिएको हुनुपर्छ । कालीगण्डकीको विशेषता यहाँ, शालीग्राम पाइन्छ । हिन्दू धर्ममा शालीग्रामलाई विष्णु भगवानको साक्षात रूप मानिन्छ । कालीगण्डकीको महिमाका सन्दर्भमा हिमवत्खण्डको ५५ औँ अध्यायमा कृष्णप्रभामहात्म्य शीर्षकमा चर्चा गरिएको छ । हिमवत्खण्डमा उल्लेख भएअनुसार दामोदरकुण्डबाट निक्लेकी कृष्णगण्डकीमा विष्णुले स्थावर रुपमा (शालिग्रामशीला भएर) अद्यापि त्यसमा वास गरिरहनुभएको छ । वीर  जालन्धरकी पतिब्रता वृन्दा नामकी पत्नीलाई छलेको हुनाले विष्णुले कृष्णगण्डकीमा शिला भई बस्नु परेको हो । श्राप दिइसकेपछि वृन्दाले विष्णुको हातमा शङ्ख, चक्र, गधा र पद्म देखिन् । आफूलाई विष्णुले छलेको थाहा पाई वृन्दा दुःखी बनिन् । म एक्ली पतिव्रतालाई मौनब्रत लिएर छल्यौ त्यसैले परदाराविमर्दनका पातकले स्थावर (ढुङ्गो) भए भनेर श्राम दिइन् । वृन्दाको श्राम सुनेर विष्णुले मनमनै चिन्ता लिदै कृष्णगण्डकीको जलमा स्नानका लागि गए । समस्त लोकहितार्थ विष्णुले कृष्णगण्डकीको जलमा स्नान गरेर अर्को मूर्तिमा फेरि अवतार लिने मन गरे । उनले विश्वकर्मालाई बोलाएर मूर्ति बनाउन लगाए । त्यसपछि विश्वकर्माले बज्रकीट भएर कालीगण्डकीभित्र बसी शालिग्रामको निर्माण गरेका थिए भनेर हिमवत्खण्डमा उल्लेख छ । कृष्णगण्डकीलाई कृष्णप्रभाका रुपमा समेत पुकारिन्छ । 

अतिदुर्लभ शालिग्राम पाइने एकमात्र स्थानका रूपमा रहेको कालीगण्डकीले दुई महत्वपूर्ण धार्मिकस्थल मुक्तिनाथ र देवघाटलाई जोडेको छ । निर्माणाधीन कालीगण्डकी करिडोरले कालीगण्डकी किनारको सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक र पर्यावरणीय सन्तुलनलाई जिवन्त राख्दै पर्यटनको विकासमा टेवा पुर्याउन सक्ने सम्भावना छ । कालीगण्डकी सभ्यताको संरक्षण र विकासमा समेत करिडोरले सहयोग पुग्ने विश्वास लिन सकिन्छ । कालीगण्डकी किनारमा खयरका लाखौं रुख विरुवा प्राकृतिक रुपमा नै रहेको पाइन्छ । कालीगण्डकीले बगाएर  ल्याउने कालो माटोमा खयर निकै सप्रेको पनि पाइन्छ । सो क्षेत्रलाई खयरको स्रोत, स्थानीयको आयआर्जन र पर्यापर्यटनका रुपमा समेत विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको छ । 

कालीगण्डकीको शालीग्रामलाई संग्रह गर्ने अभियान रामपुर नगरपालिकाल थालेको पनि छ । सो पालिकाले वडा नम्बर १ मा शालीग्राम संग्राहलय निर्माण गरेको छ । सो नदीमा कागबेनीतिर मुक्तिनाथ मन्दिर क्षेत्रबाट उत्पत्ति भएको काग खोला मिसिन्छ । मुस्ताङ खोला पनि मिसिन्छ । त्यसपछि सो नदीलाई कालीगण्डकी भनिन्छ । यो नदीले चीन (तिब्बत), नेपालहुँदै भारततिर बग्दछ । तिब्बतबाट नेपाल प्रवेश गर्दा खोंचहुँदै बग्ने कालीगण्डकी तनहुँको देवघाट पुगेपछि खुला मैदानहुँदै दक्षिणतिर लाग्छ । खोंचबाट निस्केपछि गलेश्वरमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, कुश्मा नजीकै मोदी खोला, रूद्रबेनीमा बडी गाड, आँधिखोला आदि मिसिन्छन् । त्यसपछि कालीगण्डकी पूर्व तर्फ मोडिन्छ । देवघाटमा गएर सेती गण्डकी तथा त्रिशुली नदीसँग मिसिएर दक्षिण बहन थाल्दछ । देबघाटबाट दक्षिण बग्न थालेपछि यस नदीलाई नारायणी तथा सप्त गण्डकी भनिन्छ । कालीगण्डकीको देब्रेतिरबाट सेती, मादी, मस्र्याङ्दी, बुढी गण्डकी र त्रिशुली नदी मिसिन्छन् । त्यस्तै, दाहिनेतिरबाट कालीगण्डकी र बडीगाड मिसिन्छन् । 

कालीगण्डकी किनारामा लोमान्थाङ, जोमसोम, बेनी, बाग्लुङ, कुश्मा फलेवास, पूर्तीघाट, सेतीबेनी, मिर्मी, रुद्रबेनी, रिडी, डेढगाउँ देवघाट, नारायणघाट रामपुर तथा चापाकोट तथा त्रिबेणीजस्ता बस्ती तथा सहर र धार्मिकस्थलहरु छन् । प्रेम प्रतीकका रुपमा कालीगण्डकीकै किनारमा ऐतिहासिक र पश्चिमा कलाकौशलको झल्को दिने रानीमहल रहेको छ । रानीमहलका निर्माणकर्ता खड्ग शमशेर राणा रोलवाला राणा थिए । तर, शासन सत्ताको षड्यन्त्रले उनी पाल्पा धपाइए । सोही क्रममा आफ्नी कान्छि रानीको इच्छा बमोजिम रानीमहलको निर्माण गर्न लगाएका थिए । 

कालीगण्डकीमा जल पर्यटनको पनि अथाह सम्भावना छ । कालीगण्डकीले बनाएका डरलाग्दा खोंच र भीरमा साहसिक पर्यटनको प्रचुरता उत्तिकै छ । कालीगण्डकीको जलउपयोगले तराईमा सिंचाईका साथै जलविद्युत उत्पादनमा पनि महत्वपूर्ण योगदान पुर्याउनसक्ने सम्भावना छ । १४४ मेगावाटको कालीगण्डकी जलविद्युत आयोजनाले समेत सो क्षेत्रको पूर्वाधार, सामाजिक एवं आर्थिक विकासमा टेवा पुर्याएको छ ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing