हिमचुली बङ्गुर फार्म

2022 -07- 26

पाल्पा जिल्ला बगनासकाली गाउँपालिका वडा नम्बर १ घोरबन्दा मुनीको डाँडाटोलमा हिमचुली बङ्गुर फार्म रहेको छ । दक्षिण दिशातर्फ फर्किएको यो रातो माटोको टारमा १५० जति कुमाल घरवस्ती रहेको छ । प्रेमबहादुर कुमालले चार वर्षअघि एउटा बुङ्गुरबाट सुरु गरेको बङ्गुर फार्ममा अहिले ३० वटा त बुङ्गुर माउ मात्र छन् ।

ठेक्कापट्टामा अस्वस्थ प्रतिस्पर्धा सुरु भएकाले त्यो काम छाडेर बुङ्गुर पाल्न लागेको प्रेमबहादुरले बताए । एउटा माउबाट बुङ्गुर संख्या बृद्धिहुँदै गएपछि मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपियाँ ऋण निकालेर टहरा व्यवस्थापन र केही माउ बङ्गुर थपेको उनले बताए । उनीसँग अहिले २५ वटा पाठापाठी छन् । १५ वटा माउ ब्याउने छन् । उनको फार्मलाई भेटनरीले एक लाख रुपियाँ र गाउँपालिकाले २० हजार रुपियाँ अनुदान सहयोग समेत गरेको छ । उनले बर्तुङ, तानसेनलगायत स्थानका ८० वटा जति होटलबाट फालिएका खानेकुरा सङ्कलन गरेर बुङ्गुरलाई खुवाउँदै आएका छन् । पहिला पहिला फोहोर सित्तैमा पाइने भए पनि अहिले महिनाको चार पाँच सय रुपियाँ तिरेर फालिएका खानेकुरा सङ्कलन गर्ने गरिएको उनी बताउँछन् । 

उनका बङ्गुरले १७ वटासम्म पाठापाठी ब्याएको थियो । तर तिनलाई हुर्काउन निकै कठिन भएको अनुभव उनको छ । ८/१० वटा पाउँदा मात्र हुर्काउन सजिलो हुने उनी बताउँछन् । बङ्गुर पालन थालेपछि पालिकाले दिएको एक हप्ते बङ्गुर पालन तालिम समेत लिएको उनले बताए । मासुभन्दा आफूले पाठापाठी विक्रीलाई ध्यानमा राखेर माउ पालन गरेको उनले बताए । उनले पाठापाठी जुन लगे पनि पाँच हजारमा विक्री गर्ने गरेको बताए ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing