कुमालको चक्र

2021 -09- 28

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर १ घोरबन्दामा करिव डेढ सयको घरसंख्यामा छरिएर रहेका कुमाल जाति छन् । कुमाल जातिको पुख्र्यौली पेशा माटाका भाँडा बनाएर बेच्नु भए पनि यो जाति अहिले पूर्णत पेशाबाट विस्थापित भइसकेको अवस्था छ । यद्यपि, सातबाटे टोलका २४ वर्षीय ओमबहादुर कुमाल पुर्खाको पेसा जोगाएरै बसेका छन् । 

माटोका भाँडा बेचेर खासमा यतिबेला उनको जिविका चलेको छैन । जिविकाका लागि ओमबहादुर कहिले गाडी चलाउँछन् । कहिले मेलापर्म र घरखेती धाउँछन् । बचेखुचेको समय बाबुको नासोको रुपमा ओमबहादुरले चक्र घुमाइरहेका छन् । डेढ वर्षअघि वितेका बुबाको अन्तिम वाक्य सम्झेर पनि ओमबहादुर भावुक हुन्छन् र चक्र घुमाउन जाँगर बटुल्छन् । त्यो बेला ओमबहादुरका बुबा भक्तबहादुर कुमालले भनेका थिए, ‘बाबु ! म मर्ने भइगएँ, मेरो चिनोको रुपमा यो चक्र घुमाउनचाहिँ नछोड है । तँ भोकले मर्दैनस्, मेरो आशिर्वाद छ तँलाई ।’

स्वर्गीय भक्तबहादुर कुमाल र कान्छि कुमालका तीन भाइ छोरा छन् । तीमध्ये कान्छा ओमबहादुरले बाबुको अन्तिम इच्छा र आशिर्वादलाई डोहोर्याइरहेका छन् । हुन त सानैदेखि बाबुआमाको पछि लागेर ओमबहादुरले बुबा भक्तबहादुरको सीप र पौरख नियाल्दै आएको हो । माटो कुट्दै, मुछ्दै, पेल्दै र चखेटीले चक्र घुमाउँदै ओमबहादुरको वाल्यकाल वितेको हो । ओमबहादुरकी ६४ वर्षीया आमा कान्छि कुमालले भनिन्, “सानैदेखि हाम्रो पछि लागेर भाँडा बनाउने ठाउँतिर हिँडेको हो । बाबुले गरेको काम हेरेको हेरेकै गथ्र्यो । अहिले त्यहि काममा लाग्यो । म खुशी छु ।”

खासमा ओमबहादुर माटो कलामा सानैमा रत्तिए । त्यहि भएर ओमबहादुरले आठ कक्षाभन्दा माथि पढ्ने अवस्था भएन । उमेर पुगेपछि रोजगारीका लागि गाडी चलाउन सिके । त्यो काम पनि त्यति चित्त बुझेन उनलाई । त्यसपछि बाबुबाजेको पुरानो चक्र निकाले र माटो मुछ्न थाले । जुन काममा आमा र माइला दाजुले पनि साथ सहयोग र हौसला दिएका छन् । यद्यपि, उनको यो कामले जिविका चलाउने र परिवार पाल्ने अवस्था छैन । उनी भन्छन्, “पढ्न पनि सकिएन, विदेश पनि गइएन । माटोको भाँडा बनाउने काममा लागौँ भने पनि बजार खासै छैन ।”

तानसेन बजारबाट झर्दा सिद्धार्थ राजमार्ग भेटिने ठाउँ बर्तुङ बजार हो । बर्तुङ बजारबाट करिव पाँच किलोमिटर पोखरातिर अघि बढ्दा घोरबन्दा पुगिन्छ । त्यहाँबाट खुत्रुक्क दक्षिणतर्फ झरेपछि कुमाल वस्ती सुरु हुन्छ । असारको पहिलो हप्तातिर कुमालको कथा खोज्दै हामी त्यतै पुग्यौं । ‘माटोका भाँडा बनाउने ठाउँ कता हो ?’ भनेर सोधेपछि सबैले बताइदिए वस्तीको पुछारतिर । माटोको भाँडा बनाउने कुमालको कथा खोज्दै पुग्दा ओमबहादुर रोपाइँमा जान कोदाली, सातुसामल र घुम ठिकठाक पार्दै थिए । हामीले हाम्रो उद्देश्य बताएपछि आँगनमा गाडिएको तिखो किलोमा झुम्रोले पुछ्दै तेल राख्न थाले । 

ढुङ्गा माटोले बनेको जस्ता छानोको सामान्य घर छ । घरमा तीन ढोका छन् । घर अगाडि भान्छा कोठा । भान्छामा केही माटाकै भाँडा प्रयोगमा छन् । रातो माटोको त्यो टारमा वर्षाका बेला हिँड्न ज्यादै मुस्किल छ । त्यसैले होला आँगनमा फुटेका भाँडाका टुक्राटाक्री विच्छ्याएको छ । 

ढुङ्गा माटोले बनेको शौचालयको भित्तामा ओमबहादुरको सीप, मेहनत र पसिना पोख्ने चक्र ठड्याएर राखिएको छ । छेउ मै गाडिएको छ, चक्र घुमाउन अड्याउने सानन काठको तिखो किला । जहाँ उनले चक्र अड्याएर चखेटी (लौरो) को सहयोगले फनफनी घुमाउँछन्, चक्र । अनि घुमेको चक्रमाथि मुछेको तयारी माटो राख्छन् र भाँडाको आकार दिन्छन् । 

माटोबाट भाँडा कसरी बनाइन्छ भनेर ओमबहादुरले हामीलाई बताउन थाले । उनका बाजे धोवी कुमालले बनाएको चक्र कुमाल सङ्ग्रहालयमा राख्ने भनेर लगेछन् । अहिले भएको चक्र ओमबहादुर आफैँले बनाएका रहेछन् । चक्र बनाउने विधिसमेत बुबा भक्तबहादुरबाट सिकेका ओमबहादुरले भने, “चिलाउनेको काठ चाहिन्छ । त्यसलाई प्लस आकारमा मिलाउने । छेउमा गोलो बनाउन बाँस प्रयोग गर्ने । बाँसलाई डोरीले मोड्दै गोलो आकार दिने । त्यसमा गोवर माटो मिलाएर लिप्सदै जाने । यो चक्र तीन हप्तामा तयार पार्न सकिन्छ ।” 

चक्रलाई चुच्चो किलामा अड्याएर घुमाइन्छ । काठ, बाँस र माटोले बनाइएको चक्रको केन्द्र भागमा शालीग्राम राखिएको हुन्छ । जसमा सानो प्वाल खोपिएको हुन्छ । किलाको तिखो भाग त्यहि शालीग्रामको प्वालमा राखिएको हुन्छ । यसकै सहायताले एक पटक चक्र घुमाएपछि धेरै बेरसम्म घुमिरहन्छ । हामीलाई यो जानकारी कान्छि कुमालले दिइन् । 

माटो कलामा पारङ्गत ओमबहादुरका अनुसार, भाँडा बनेपछि केहीबेर घाममा र त्यसपछि हावा लाग्ने ओझल परेको ठाउँमा सुकाइन्छ । हाँडी, हण्डा, भैँटा, हुँडुला (रक्सी थाप्ने भाँडा), घ्याम्पो बनाउचाहिँ थप केही प्रक्रिया पूरा गर्नुपर्छ । अख्रिएको भाँडालाई अथोरी (बीचमा केही गहिरो काठको पिर्का) मा राखेर काठको चेप्टो खालको मुंग्रोले पिट्दै भाँडाको आकार फैलाउने काम गरिन्छ । त्यसका लागि भाँडाको भित्रबाट काठकै पिडीले साथ दिनुपर्ने हुन्छ । यसरी तयार भएको भाँडालाई घर छेउकै बारीमा रहेको भट्टीमा दाउराले पोलेर ओमबहादुरले माटोका भाँडा बनाउँदै आएका छन् ।

माटोबाट कसरी भाँडा बनाइन्छ भन्ने कथा सुनाइरहँदा ओमबहादुरसँग केही गुनासा र केही अपेक्षा पनि थिए । भाँडा बनाउन कालो चिम्टाइलो माटो चाहिन्छ, जुन जहाँतहाँ पाइदैन । त्यो भेगतिर बाँसटारीको खेतमा मात्र भाँडा बनाउन काम लाग्ने माटो पाइन्छ । उनले एक ट्रयाक्टर माटोको दुई हजार पाँच सय तिरेर एक वर्षअघि किनेर ल्याएका छन् । ट्रयाक्टरको भाडा तीन हजार । पाँच हजार पाँच सयमा घर ल्याइपुर्याएको माटो दलानमा चाङ लगाएर राखिएको छ । घरमाथि दाउरा किनेर चाङ लगाएका छन् । एक ट्रयाक्टर दाउराको पाँच हजार पाँच सय परेको उनी बताउँछन् । सहरीकरण बढिरहेको बेला त्यो कालीमाटी पाइने खेतमा पनि वस्ती बस्ने हो कि भन्ने चिन्ता ओमबहादुरलाई छ । 

सामुदायिक वनबाट दाउरा निकाल्न नपाइने भएकाले निजी बनबाट दाउरा किनिएको भनाई उनको छ । भाँडा पोल्नका लागि पनि जुनपायो त्यहि दाउरा काम छैन । उहाँका अनुसार चिलाउने, खल्ड, खिलुवा, दुधेजस्ता दाउरा चाहिन्छ । ओमबहादुरको वनसँग अपेक्षा छ, “सामुदायिक वनभित्र हामीलाई चाहिने विरुवा रोप्न दिए हुने थियो । वन पनि जोगाउने थियौँ, दाउरा पनि लिने थियौँ ।”

स्थानीय सरकारले रैथाने सीप, ज्ञान र प्रविधि संरक्षणका लागि योजना, पहल र बजेट विनियोजन गर्नुपर्ने हो । माटोको भाँडा बनाउन सहयोग माग्दै उनी वडा र पालिका पनि पुगेकै हुन् । तर कतैबाट सहयोग नपाएको गुनासो उनको छ । उनले भने, “यो चक्र पनि इलेक्ट्रिक पाइन्छ रे, त्यो भएमा चक्रको घुमाइ एकनासको हुन्थ्यो । भाँडाको साइज निकाल्न पनि सजिलो हुन्थ्यो । चक्र घुमाउन धेरै दुःख पनि हुन्थेन ।”

माटोका भाँडा बनाउन, सुकाउन खुला टहरा बनाउन सके र भाँडा पोल्ने व्यवस्थित भट्टि व्यवस्थापन गर्न सके व्यवसायिक रुपमा नै माटोको भाँडा बनाउने पेसामा लाग्ने कि भन्ने सोंच पनि उनमा छ । बजारको मागअनुसार माटोका विभिन्न भाँडाकुँडा बनाउने तालिम लिने इच्छा पनि उनमा छ । अहिले उनकोमा हुँडुला (रक्सी थाप्ने भाँडा), घैँटा, हण्डा र खुत्रुकेको माग ज्यादा छ । बजार या गाउँबाट माटोका भाँडाको माग आएपछि मात्रै उनी बताउँछन् । बजारमा प्लाष्टिक र सिल्बरे भाँडाको बर्चश्व बढ्न थालेपछि माटोको महत्व बुझ्नेले मात्रै भाँडा मगाउने गरेको ओमबहादुरको बुझाई छ ।

घाम छिप्पीइसकेछ । ओमबहादुरको अनुहारमा पनि रोपाइँको हतारो देखिन्थ्यो । उनले अब कुराकानी टुङ्ग्याउने छनक दिए ।  गफैगफमा ओमबहादुरले घुमिरहेको चक्रबाट धागोको सहायताले चट्ट काटेर हुँडुला निकाले । पातमाथि टपक्क राखेर घाममा सुकाए । उनले भने, “यो अख्रिएपछि अथोरीमा राखेर पिडीले सपोर्ट दिएर र पिटनीले पिट्दै फुकाउनु पर्छ ।”

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing