टिमुर

2021 -09- 28

पाल्पाका पहाडी जङ्गलमा रैथाने प्रजातिका रुपमा टिमुर प्रसस्त पाइन्छ । जटिबुटी र मसलाका रुपमा भान्छामा प्रयोग हुने टिमुरबाट किसानले मनग्य आम्दानी लिन सक्छन् । प्राकृतिक रुपमा जङ्गलमा पाइने टिमुरको जथाभावी सङ्कलनले टिमुर संरक्षणमा चुनौती समेत थपेको छ ।

पाल्पाको रैथाने टिमुर संरक्षण र किसानको आजआर्जन बृद्धिलाई ध्यानमा राखेर डिभिजन वन कार्यालय पाल्पाले टिमुर पकेट क्षेत्र विकास गरेको छ । स्थानीय सरकार र सामुदायिक वनसँग मिलेर डिभिजन वन कार्यालयले टिमुरका साथै मसला र जडिबुटीका विभिन्न २० प्रजाति प्रसारण गर्ने योजना बनाएको छ । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको अड्चले, रिब्दीकोट गाउँपालिकाको ठिमुरे र रैनादेवी छहरा गाउँपालिकाको सत्यवतीलाई टिमुर पकेट क्षेत्रका रुपमा घोषणा गरिएको छ । सो क्षेत्रका पाँच सयभन्दा बढी किसान सामुहिक टिमुर खेतीमा संलग्न छन् । 

डिभिजन वन कार्यालय पाल्पाले २० प्रजातिका वनस्पति प्रवद्र्धन गर्ने योजना बनाएको छ । यसमा पाँच प्रकारका जडिबुटी र नेपाली भान्छामा मसलाका रुपमा प्रयोग गरिने विरुवा समेत वितरण गरिने छ । विरुवा रोपण कार्यलाई व्यवस्थित र परिणाममुखी बनाउन विरुवाका साथै वनले अनुदानको समेत व्यवस्था गरेको छ । 

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दीपक ज्ञवाली जङ्गल संरक्षणसँगै स्थानीय उपभोक्ताले त्यसबाट आर्थिक लाभ लिनसक्नुपर्ने बताउनुहुन्छ । त्यसका लागि पाल्पा जिल्लामा के सम्भावना छ ? भन्ने अध्ययन र अनुसन्धानपछि वनको सुधार गर्दै उत्पादनमुखी बनाउनुपर्ने धारणा उहाँको छ । जिल्लाका किसानको माग र डिभिजन वन कार्यालयको योजना अनुसार वनको आफ्नै नर्सरीमा विरुवा समेत उत्पादन हुँदै आएको छ । तानसेन नगरपालिका–१३ होलाङ्गदीमा केन्द्रीय नर्सरी रहेको छ । 

कालीगण्डकीको खोंच किनारदेखि चुरेका चुचुरासम्म फैलिएको पाल्पाका ५६ प्रतिशत वन क्षेत्रको संरक्षण र प्रवद्र्धनका साथै आयआर्जनका हिसावले समेत बजार भएका वनस्पति प्रवद्र्धन गरी वन उपभोक्ताको आर्थिक विकासमा सहयोग गर्ने लक्ष्य डिभिजन वन कार्यालयको छ । त्यसका लागि आर्थिक वर्ष २०७८/०७९ मा मात्रै ४० हजार टिमुरका विरुवा वितरण गरिएको छ । त्यति मात्रै हैन बजार सुनिश्चित भएका रैथाने प्रजातिका विरुवा समेत वितरण योजना वनको छ । उपभोक्ताको रुची, सम्भावना, भौगोलिक अवस्थाअनुसार विभिन्न २० स्थानमा विशेष पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य वनको छ । टिमुर, दाल्चिनी, लप्सी, चिउरीजस्ता रैथाने विरुवाका साथै दाङ जिल्लाबाट मालागिरी (सुगन्धवाल) का विरुवा मगाएर परीक्षणका रुपमा लगाउने योजना वनको छ । 

बगनासकाली गाउँपालिका ६ यम्घा ठूलोपोखराका नूरराज बस्यालले छ वर्षअघि बुटवल मणिग्रामबाट टिमुरको एउटा विरुवा ल्याएर घर मुनी डिलमा रोपेका थिए । त्यो कुरा परिवारका सदस्यलाई थाहा थिएन । काँडा आउने के विरुवा रहेछ भनेर परिवारका सदस्यले उखलेर फालिदिएछन् । बिरुवा कत्रो भयो ? भनेर नूरराज हेर्न जाँदा रोपेको ठाउँमा विरुवा नै थिएन । यताउता खोज्दा टिमुरको ठूटो भेटपछि नूरराजले त्यहि ठाउँमा फेरि रोपे । नूरराजले भने, “मलिलो ठाउँमा परेछ रोपेको तीन वर्षमा नै फल्यो ।” पहिलोपटक तीन किलो फलेको र अहिले तीन पाथी फल्ने गरेको उनले सुनाए । पकेट क्षेत्रको रुपमा ५१ घरधुरीले निजी जग्गामा एक हजार पाँच सय टिमुर विरुवा लगाउने योजना समेत उनले सुनाए । बगनासकाली गाउँपालिका २ आँपचौर पोखराथोकका सिर्जना गैरेको घरबारीमा पनि लटरम्म फलेको टिमुर बोट छ । चार वर्षअघि रोपिएको विरुवाबाट घरमा उपयोगका साथै टोलछिमेकमा बाँड्न पुगेको छ । सिर्जनाले भनिन्, “यहाँ टिमुर लाग्ने रहेछ । बाँदरले अरु बाली लगाएर टिप्न नदिने भयो, बरु यहि पो लगाउनु पर्छ कि के हो ?”

बगनासकालीका किसान मुख्य रुपमा बाँदरको आतङ्कबाट प्रभावित छन् । बगनासकाली १ मा बाँदरको आतङ्क त्यति नदेखिए पनि अन्य आठ वटा वडामा बाँदरले खेती किसानीमा समस्या बनाएको गुनासो किसानको छ । त्यस हिसावले पनि मकै बालीका ठाउँमा बेसार, टिमुर, तेजपातलगायत बाँदर तथा वन्यजन्तुले विनास नगर्ने वैकल्पिक खेती गर्ने पो हो कि ? भन्ने प्रश्न किसानमा रहेको पाइन्छ । 

नेपालका ३८ जिल्लामा टिमुरको खेती हुन्छ । रोल्पा, सल्यान, प्युठान, रुकुम जिल्लामा उच्च गुणस्तरका टिमुर उत्पादनमा प्रसिद्ध छ । पाल्पाका जङ्गलबाट समेत लामो समयदेखि रैथाने टिमुर सङ्कलन हुँदैआएको पाइन्छ । महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुरको अव्यवस्थित सङ्कलनले जङ्गली अवस्थामा रहेका टिमुर लोप हुने अवस्थामा पुगेको छ । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । 

नेपालको महाभारत पर्बत शृङ्खलाको एक हजार दुई सयदेखि दुई हजार पाँच सय मिटर सम्मको उचाईमा टिमुर पाइन्छ । कतिपय ठाउँमा किसानले व्यवसायिक रुपमा समेत टिमुर खेती गरेको पाइन्छ । यो दुई दलीय मसला बाली हो । यसको गेडा कालो रंगको कडा हुन्छ । 

टिमुर रोपेको तीन वर्षमा फल दिन थाल्छ । कलमी बिरुवाले छिटो फल दिए पनि यो धेरै समय बाँच्दैन । पाँच वर्ष पुगेको बोटमा प्रति वर्ष औसत तीन किलो टिमुर उत्पादन हुन्छ । वयस्क बोट (१०–२५) वर्ष पुरानो बोटबाट वार्षिक १५ किलोसम्म टिमुर उत्पादन हुन्छ । 

बेर्ना रोप्न तयार पारिएको खाल्टोमा राम्रोसँग कुहिएको पाँच किलो गोबर मल राख्नुपर्छ । रोपेको केही महिनासम्म गोडमेल र झारपात उखेल्नुपर्छ । बिरुवामा ससना काँडा पलाएका छन् भने त्यो बिरुवा सर्ने सम्भावना बढी हुन्छ । विरुवा सार्ने बेलामा हल्का पानीको आवश्यकता हुन्छ । विरुवा सरेपछि यो हत्तपत्त मर्दैन । 

टिमुर खेतवारीको डिलमा रोप्दा अझ राम्रो हुन्छ । दोमट र चिमट्याइलो माटोमा टिमुर राम्ररी हुर्कन्छ । ओसिलो र अम्लीयपना ६.५ देखि ७ सम्मको जग्गा राम्रो हुन्छ । रातो माटोमा पनि टिमुर खेती गर्न सकिन्छ । अरु बालीका लागि अनुपयुक्त जग्गाको छेउछाउमा टिमुर खेती गर्न सकिन्छ । यो छ मिटरसम्म अग्लो हुन्छ ।

नेपालमा टिमुरका साथ प्रजाति पाइएका छन् । काँचोमा हरियो हुने टिमुर पाकेपछि रातो रंगको हुन्छ । धेरै पाकेमा फल आफै फुट्दछ र कालो रंगको बियाँ बाहिर निस्किन्छ ।

भदौ–असोजमा बीउ सङ्कलन, असोज–कात्तिक, चैत–वैशाखमा बीउ रोप्ने र नर्सरी, प्लास्टिक थैलो तयार पार्ने कार्य असोज–कात्तिक या चैत–वैशाखमा गरिन्छ । यसको कलमी काट्ने समय माघ–फागुन हो । कलमी रोप्ने समय वैशाख–जेठ हो । फुल्ने समय चैत–असार, फल लाग्ने जेठ–साउन र टिमुर टिप्ने समय असोज–कात्तिक हो । सल्यानमा भदौ १२ गते टिमुर भित्र्याउने उपयुक्त दिन मानिन्छ ।

टिमुरको बोटभरीनै केही चेप्टो परेको तीखो काँढा हुन्छन् । जसले गर्दा फल टिप्न अप्ठेरो हुने भएकाले किसानले हाँगा नै काट्ने गरेको पाइन्छ । टिमुर टिप्दा हाँगा काट्नु हुँदैन । एकपटक काटेको हाँगा परिपक्व भएर फल लाग्न दुई वर्ष लाग्छ । टिमुरको बोट मुनी प्लास्टिक वा सफा कपडा विच्छ्याएर हातैले वा सिकेचर प्रयोग गरेर टिप्न सकिन्छ । टिमुरको फल गाढा रातो रंगको भएपछि टिप्नुपर्छ । एक जना व्यक्तिले दिनमा चार पाँच किलो टिमुर टिप्न सक्छ । प्राकृतिक रुपमा वेर्ना उमार्ने हो भने रुखबाट ९० प्रतिशत मात्र फल टिपेर १० प्रतिशत रुखमै छाड्नुपर्छ । 

टिमुर सङ्कलनपछि फललाई घाम र छहारीमा सुकाउनु पर्छ । घाममा धेरै सुकाउँदा फलमा भएको सुगन्धित तेलको मात्रा उडेर जाने हुन्छ । पूर्ण रुपमा सुकेपछि फललाई ओस नभएको भाँडा वा जुटको बोरामा राखेर हावा लाग्ने कोठामा राख्नुपर्छ । फल निकालेपछि अनावश्यक र सुकेका हाँगाविगा हल्का काँटछाँट गर्नुपर्छ ।

नेपालमा टिमुरको प्रयोग मसलाको रुपमा गरिन्छ । विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ । टिमुरको बोक्रा तथा फलमा औषधीय गुण हुन्छ । भातभान्छादेखि घरेलु उपचारमा टिमुरको प्रयोग गरिन्छ । टिमुरलाई अचार तथा मसलाको रुपमा प्रयोग गरिन्छ । फल तथा पातको धुलो दात माझ्न प्रयोग गरिन्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । 

जङ्गली जुका फाल्न, पेटको बिकार फाल्न, जैबिक बिषादि बनाउनसमेत टिमुरको प्रयोग गरिन्छ । यसको फल, रुखको बोक्रा, फूललगायत भागलाई दन्तमन्जन, साबुन, अत्तर आदि बनाउन प्रयोग गरिन्छ । आयुर्वेदिक उपचारमा पनि टिमुरको प्रयोग गरिन्छ । दाँत दुःखेको, पेटको बिकार, ज्वरो, हैजा हटाउन लगायतका बिमारमा टिमुरको प्रयोग गरिन्छ । हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ । आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ । आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ । न्यून रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्या उने गर्छ । गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ । टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ । कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing